मकवानपुर– मकवानपुरमा आगामी जेष्ठ १३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकको सिफारीसमा स्थानीय प्रशासनले आगामी जेष्ठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
यस अघि जिल्लाको ४ वटा स्थानीय तहमा जारी निषेधाज्ञाको समयसंगै स्थान समेत थप गरेर जिल्लाभर बैशाख ३१ गते राती १२ बजेबाट लागु हुनेगरि जेठ १३ गतेसम्मको लागि निषेधज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । कोरोना नियन्त्रणका लागि जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकामा बैशाख ३१ गते सम्म जारी गरिएको निषेधाज्ञा आगामी जेष्ठ १ गतेबाट १३ गतेसम्म जारी गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका गाउँ गाउँमा समेत कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएकाले जिल्लाभर निषेधाज्ञा लगाइएको उहाँले बताउनुभयो । उहाँले अबको निषेधाज्ञा थप कडाईका साथ लागु गरिने समेत जानकारी दिनुभयो । उहाँले हेटौंडामा मर्निङ÷इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तु विहान ८ बजे सम्म खुल्ने, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबार मात्र खोल्ने, वित्तिय र सहकारी संस्था भने पूर्णरुपमा बन्द गर्ने जस्ता निर्णय गरिएको बताउनुभयो ।