काठमाडौं : नेपाल नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा उपविजेतामै सीमित बनेको छ । किर्गिस्तानमा बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भयो । अन्तिम समयतिर खेलमा फर्किएको नेपालले दुई गोल गरे पनि हार टार्न सकेन । नेपाल लिग चरणको खेलमा पनि उज्वेकिस्तानसँग २–० गोलले पराजित भएको थियो । नेपालले लिग चरणमा आयोजक किर्गिस्तानलाई ८–२ र ताजकिस्तानलाई १–० गोलले पराजित गरेको थियो । चार टोली सहभागी प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीले फाइनल खेलेका हुन् ।
उज्वेकिस्तानले ३९औं मिनेटमा अग्रता लिएको थियो । नेपालकी रक्षक पुनम जर्घामगरको गल्तीमा उज्वेकिस्तानले पहिलो गोल गरेको थियो । त्यसपछि उज्वेकिस्तानले ५४औं र ६४औं मिनेटमा लगातार गोल गरेको थियो । नेपालले ६७औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । सावित्रा भण्डारीले पोस्ट् नजिकबाट उत्कृष्ट गोल गरेकी थिइन् । लगत्तै अर्को गोल गर्ने मौका गुमाएकी सावित्राले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरेकी थिइन् ।
सावित्राले दुई गोल गरेसँगै राष्ट्रिय टोलीका लागि ३५ गोलको कीर्तिमानमा बराबरी गरेकी छन् । सावित्राले यसअघि अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भेट्टाएकी हुन् । सावित्राको राष्ट्रिय टोलीका लागि खेल संख्या भने ३७ पुगेको छ । नादेझ्दा कपमा सात गोल गरेकी सावित्राले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जितिन् ।
डीबक्सभित्र अनिता बस्नेतको प्रहारमा उज्वेकिस्तानकी रक्षकको ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले सही सदुपयोग गरिन् । इन्जुरी समयमा पुगेर दोस्रो गोल फर्काए पनि नेपालले हार टार्न सकेन । नेपालले आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कप खेलेको हो । नेपाली टोली लामो समयदेखि सागका लागि अभ्यास गरिरहेको छ । नेपाल सागको उपविजेता टोली हो । भारतको सिलोङमा तीन वर्ष अघि भएको सागको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।