मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मंगलबार आज हेटौंडा–१७ स्थित बालबोध माविको अनुगमन गर्नुभएको छ । प्रमुख खुलालले जिल्लामै पहिलो पटक भूकम्पबाट प्रभावित सामुदायिक विद्यालय मध्ये भवन प्रबलीकरण भईरहेको उक्त विद्यालयकाे स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा प्रमुख खुलालले प्रबलीकरणको काम निकै राम्रो भएको बताउनुभयो । उहाँले उक्त विद्यालय भवनको प्रबलीकरणसंगै जिल्लामा प्रबलीकरण सम्बन्धी डकर्मीसमेत उत्पादन हुने हुँदा कार्यक्रम अझै प्रभावकारी रहेको बताउनुभयो । उहाँले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न समेत डकर्मीहरुलाई सुझाव दिनुहुँदै सम्झौता बमोजिम कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्ट, विद्यालयका प्रधानाध्यापक रमेश रिजाल, परामर्शदाता कम्पनीका प्रतिनिधिले उक्त कार्यका बारेमा प्रमुख खुलाललाई जानकारी गराउनुभएको थियो ।

जिल्लामा पहिलो पटक बालबोध माविको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा)÷ मार्फत दुईवटा ब्लकको प्रबलीकरण भईरहेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत भुकम्प प्रभावित १४ मध्ये मकवानपुरमा एक र गोरखामा एक गरि दुई जिल्लामा मात्र तालिमसँगै भवन प्रबलीकरण भईरहेको छ । २०७२ सालको भूकम्पबाट प्रभावित १४ जिल्लामा क्षतिग्रस्त सामुदायिक विद्यालयहरूमा प्रबलीकरण गर्नुपर्ने विद्यालयको प्रबलीकरण गर्न र उक्त कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो ।

जिल्लामा प्रबलीकरणका लागि सिफारिस भएका विद्यालय मध्ये बालबोध मावि छनौटमा परी प्रबलकिरणसंगै तालिम सञ्चालन भईरहेको उहाँले बताउनुभयो । उक्त विद्यालयको प्रबलीकरण तथा प्रबलीकरण तालिम सञ्चालनका लागि कन्टेन्जेन्सी बाहेक कुल १ करोड ९१ लाख १३ हजार २ ८५ रुपैयाँ लागत रहेको छ । डकर्मीलाई प्रबलीकरण सम्बन्धी ५० दिने आवासीय तालिम प्रदान गर्नुका साथै सो अवधिमा उक्त विद्यालयको दुई ब्लकको प्रबलीकरण सम्पन्न हुने छन् । हाल तालिम सञ्चालन भएको ३५ दिन भएको छ ।