मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडाको एक निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले निजी अस्पताल ( चुरेहिल ) लाई कोभिड आस्पताल बनाउने निर्णय गरेको हो ।
चुरेहलि अस्पतालमा आइसियूसहित २५ बेडको कोभिड अस्पताल संचालनमा ल्याइने भएको हो । अस्पतालमा अहिले ८ आइसियू बेड, एउटा भेन्टिलेटरको सेवा उपलब्ध छ । सो सेवालाई निजी क्षेत्रका अन्य अस्पतालहरुको सहकार्यमा २५ बेडको कोभिड आस्पताल संचालनको तयारी गरिएको हो । यसअघि हेटौंडा अस्पताललाई आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेर कोभिड–१९ उपचार कक्ष संचालनमा ल्याइएको थियो । कोभिड अस्पतालको रुपमा सञ्चालित हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएका २५ बेडको जनरल वार्ड, ३० बेडको एचडियु वार्ड र ६ वटा भेन्टिलेटरसहित ७ बेडको आइसियु वार्ड रहेको छ । बुधबार दिउँसो सम्ममा आइसियु वार्डमा १ जना, एचडियु वार्डमा १७ जना उपचाररत छन् । भने, कोरोना संक्रमित भई एचडियु वार्डमा उपचाररत एकजना डिस्चार्ज भएका छन् ।
