मकवानपुर– मकवानपुरमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले थप निर्णय गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
हेर्नुहोस निर्णयहरू
१) कोभिड–१९ को यस विषम परिस्थितिमा बिरामीहरूको लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी, शाखा कार्यालय, मकवानपुरले आवश्यकता अनुसार ब्लड संकलन अभियान सञ्चालन गरी आवश्यक व्यवस्था मिलाउने ।
२) श्री गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौंको च.नं. ३१५८, मिति २०७८/०१२० को पत्र र श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंको च.नं. १५७६, मिति २०७८/०१/२० को पत्रबाट मिति २०७८/०१/१९ को नेपाल सरकार (मन्त्रिपरिषद्को) निर्णय कार्यान्वयनका लागि लेखि आएको सन्दर्भमा यस जिल्लामा देहायबमोजिम गर्ने, गराउने ।
(क) कोभिड–१९ को महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार प्रयोजनका लागि आवश्यक परेसम्म निर्माण र उद्योग व्यवसायलगायत अन्य प्रयोजनमा अक्सिजन आपूर्ति र प्रयोग गर्न रोक लगाउने । स्वास्थ्य उपचार बाहेक अन्यत्र प्रयोग भइरहेका अक्सिजन सिलिण्डरहरू ३ (तीन) दिनभित्र अक्सिजन सप्लायर्सकहाँ पुर्याई भर्न लगाई अस्पताल र स्वास्थ्य प्रयोजनमा मात्र ल्याउने ।
(ख) जिल्लाभित्र सञ्चालित राष्ट्रिय जनगणना, २०७८ का सम्पूर्ण गतिविधिहरू स्थगन गर्ने ।
(ग) कोभिड रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारका लागि स्थानीय तहको आन्तरिक स्रोत पर्याप्त नभएमा सम्बन्धित स्थानीय तहहरूले नेपाल सरकार तथा प्रदेश सरकारमा अनुरोध गर्ने ।
३) श्री गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा, सिंहदरबार, काठमाडौंको च. नं. ८२०, मिति २०७८/०१/२० को पत्रसाथ संलग्न प्रतिनिधि सभा, महिला तथा सामाजिक समिति, संघीय संसद भवन, सिंहदरबार, काठमाडौंको च.नं. १६०, मिति २०७८/०१/१४ को पत्रबाट निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरकरूपले सबल एवं लैंगिक अल्पसंख्यकहरूमाथि हुनसक्ने हिंसा न्यूनिकरणरनियन्त्रणमा पूर्व तयारी गर्न, उल्लिखित लिंग, वर्गमैत्री क्वारेन्टाइन र आइसोलेशनको प्रबन्ध मिलाउन लेखि आएको सन्दर्भमा सबै स्थानीय तहहरूले उल्लिखित लिंग, वर्गमैत्री क्वारेन्टाइन र आइसोलेशनको प्रबन्ध मिलाउने र हिंसा न्यूनीकरणरनियन्त्रणका लागि पूर्व तयारी समेत गर्ने ।
४) श्री गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौंको च.नं. ३१५४, मिति २०७८/०१/२० को पत्र र स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र, काठमाडौंको च.नं. १५७३, मिति २०७८/०१/२० को पत्रबाट अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि लेखि आएको सन्दर्भमा अस्पताल प्रयोजन बाहेक अन्यत्र प्रयोग भएका अक्सिजनको लगत तयार गर्ने र आवश्यकता अनुसार प्रहरी समेत परिचालन गरी विभिन्न उद्योग तथा विद्युत आयोजनाहरूमा स्टकको रूपमा रहेका तथा अन्यत्र प्रयोग भएका अक्सिजन सिलिण्डरहरू अक्सिजन सप्लायर्स कहाँ पुर्याई भर्न लगाई अस्पताल र स्वास्थ्य प्रयोजनमा मात्र ल्याउने ।
५) जिल्लाभित्र कोभिड–१९ संक्रमितहरूको संख्यामा तीव्र वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने अभियान अर्को निर्णय नभएसम्म हाललाई स्थगन गर्ने ।
६) औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने मिति २०७८/०१/१८ को प्रमुख जिल्ला अधिकारीको आदेश बमोजिम सम्बन्धित औद्योगिक प्रतिष्ठानहरूले जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई जानकारी उपलब्ध गराई निश्चित सवारी साधनहरूको प्रयोग गरी विहान ४ देखि ६ बजेभित्र कर्मचारी तथा श्रमिकहरूलाई उद्योग परिसरभित्र प्रवेश गराइसक्ने गरी र साँझ ५ देखि ७ बजेभित्र उद्योग परिसरबाट बाहिर पठाउने गरी घरबाटै ल्याउने र पुर्याउने व्यवस्था मिलाउने । तर, यसरी व्यवस्था मिलाउँदा कर्मचारी तथा कामदार घर फर्किसकेपश्चात् समुदायमा घुलमिल भए, नभएको अनुगमन निरीक्षण सम्बन्धित उद्योग र उद्योग संघ मकवानपुरले गर्ने र नियमितरूपमा डिसीसीएमसीको बैठकमा प्रतिवेदन पेश गर्ने ।
७) बैंक तथा वित्तिय संस्थाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन हुने व्यवस्था बैंकर्स एसोसिएशन मकवानपुरले मिलाउने र सो को जानकारी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरलाई गराउने ।
८) मिति २०७८/०१/१८ गते प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ५ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएकोमा विक्री वितरणको समय विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र तोक्न प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गर्ने ।