हेटौंडा– इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चित कालको लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले आइपिएल अनिश्चित कालको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आठमध्ये चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो । सोमबार कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मङ्गलवार सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आइपिएल अनिश्चित समयको लागि स्थगित हुन पुगेको हो । मङ्गलवार हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो ।
लगातार खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले स्थगित गर्ने निर्णय लिएको हो । सोमबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सको खेल स्थगित भएको थियो । आइपिएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् । भारतमा हरेक दिन कोरोना महामारीले विकराल रूप लिँदा पनि आइपिएल निरन्तर हुँदै आएको थियो । चेन्नईको टोली क्वारेनटाइनमा बसेको छ । यस अघि दिल्लीका तीव्र गतिका बलर एनरिच नोर्किया र स्पिनर अक्षर पटेलमा पनि कोरोना संक्रमण देखिएको थियो । यी दुवै खेलाडीले कोरोनालाई जितेका थिए । त्यस्तै कोलकाता नितिश राणा, बेंगलोरका ओपनर देवदत्त पाडिक्कल पनि कोरोना जितेर मैदान फर्किसकेका छन् ।