मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आईतबार कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा यातायात व्यवसायीहरुसंग छलफल गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज एक कार्यक्रमको आयोजना गरेर यातायात व्यवसायी तथा मजदुरसम्बद्ध संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिसंग कोरोना रोकथाम तथा नियन्त्तणका बिषयमा छलफल गर्नुभएको हो ।

प्रमुख खुलालले मकवानपुरमा कोरोना प्रकोप बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणका विषयमा यातायातसम्बद्ध संघ÷संस्थाहरुले खेल्नुपर्ने भुमिकाका विषयमा छलफल गर्नुभएको हो । सो अवसरमा उहाँले समुदायमा प्रकोप फैलिएमा रोक्न नसकिने हुँदा त्यसका बारेमा बेलैमा सचेत हुने र अरुलाई समेत सचेत गराउने कुरामा भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकार र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धरा जारी निर्देशनहरु पालना गर्न÷गराउन, मास्कको अनिवार्य प्रयोग गर्न÷गराउन, क्षमता भन्दा बढी यात्रु नराख्न साथै समुदायमा सचेतना फैलाउने कार्यमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । यस अघि प्रमुख खुलालले गैरसरकारी संस्था र सहकारी संस्थाहरूसंग पनि छलफल गर्नुभएकाे थियाे । छलफलमा मकवानपुरका विभिन्न यातायात सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।