काठमाडौँ– सरकारले कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी कृषिमन्त्री पद्मा अर्यालले दिनुभयोे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दका विषयमा सरोकारवाला पक्षसँग परामर्श गरी कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिएकोे थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको भन्दै विद्यालय बन्द गर्न कोभिड नियन्त्रणसम्बन्धी उच्च निकाय सीसीएमसीमा गत हप्ता नै सिफारिस गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो । मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौंँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो ।