मकवानपुर– प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका स्थानीय तहको केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम बागमती प्रदेशमा पनी सुरु भएको छ । स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत बागमती प्रदेशका ४ वटा स्थानीय तहसँग आइतबार सडक निर्माणका लागि सम्झौता भएको छ ।

स्थानीय पूर्बाधार विकास आयोजना कार्यालयका अनुसार बागमती प्रदेशमा ६० वटा स्थानीय तहहरुले यो कार्यक्रमका लागि माग पठाएका मध्ये आईतबार ४ वटासंग सम्झौता भएको हो । परियोजनाका लागि संघ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौंडाका प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो । आईतबार धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकासँग हेटौडा स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा सम्झौता भएको हो । कार्यक्रमको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका दुई सय १० स्थानीय तहमा एकसाथ शुभारम्भ गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट देशभर यो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमकको शुभारम्भका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्वको हुने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री फुयाँलले जनताको जायज माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो ।

देशभरका तीन सय ९२ वटा पक्की सडकको माग भए पनि ६१ वटा स्थानीय तहमा अझै सडक पहँुच नपुगेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । कार्यक्रम मार्फत चालु आर्थिक बर्षको अन्तसम्ममा २० वटा सडकको निर्माण कार्य सुरु गर्ने लक्ष्य लिइएको छ । पाँच बर्ष भित्र ४ हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा सडक पुल सहित करिब २ खर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । चालु आर्थिक बर्षमा छनौट तथा समझदारी पत्रमा हस्ताक्षर भएका योजनाहरुको क्रमशः विस्तृत परियोजना प्रतिबेदन तयार गर्ने र कम लम्बाइ भएका आयोजनाहरुको निर्माण कार्य यसै बर्षबाट सुरु गर्ने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव मानबहादुर बिक, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतको सहभागिता थियो ।