काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देश तीव्र विकासको गतिमा अगाडि बढेको बताउनु भएको छ । प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले सडक सञ्जालमा नजोडिएका स्थानीय तहलाई जोड्ने कामले विकासको एउटा नयाँ उचाइ सुरु भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अव बन्ने सडकहरू कच्चा र असुरक्षित नभई राम्रा, फराकिला र पक्की सडक निर्माण हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सरकारले चौतर्फी ढङ्गले विकासको अभियान अगाडी बढाएको बताउनुहुँदै दुर्गम ठाउँहरूमा आवागमनलाई सहज बनाउने, पर्यटन विकासका लागि ताल तलैया, पुल पुलेसा निर्माणसँगै प्राकृतिक वातावरणका संरक्षणमा विशेष ध्यान दिइएको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले स्थानीय सडक सञ्जाल निर्माण राष्ट्रव्यापी गौरवको अभियान हो भन्नुहुँदै यो सफल र पार्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने र आफ्नो स्वार्थ प्रतिका लागि जे गर्न पनि पछि नपर्ने प्रवृत्तिका बाबजुद पनि सरकारले विकासको गति तीव्र रुपमा बढाइरहेको बताउनुभयो ।