मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा दक्षिण एसीया कै पहिलो सुरुङमार्गका निर्माणकर्ता डिल्लीजंग थापाको शालिक राखिएको छ । आज एक कार्यक्रमकाबीच दक्षिण एशियाकै पहिलो सुरुङमार्गका निर्माणकर्ता नेपालका प्रथम ग्राजुएट सिभिल ईन्जिनियर ब्रिगेडिएर कर्णेल थापाको अर्धकदको शालिक चुरियामाई मन्दिर परिसरमा राखिएको हो ।

हेटौंडा उपमहानगरपालिकाद्धारा ४ लाखको लागतमा निर्माण गरिएको नेपाली सेनाका सिभिल ईन्जिनियर, बिग्रेडियर कर्णेल थापाको अर्धकदको शालिक अनावरण गरिएको हो । शालिकको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अनावरण गर्नुभएको हो । शालिक अनावरण गर्नुहुँदै मेयर महतले पुराना सम्पदाहरुको संरक्षण गनुपर्ने बताउनुभयो । दक्षिण एशियाकै पुरानो चुरीया माई सुरुङमागको परिकल्पनाकार बिग्रेडियर जनरल थापाको शालिक काठमाडौंबाट निर्माण गरेर ल्याइएको हो ।
सन् १९१७ मै बनेको दक्षिण एसियाको सबैभन्दा पुरानो चुरियामाई सुरुङ ९ फिट चौंडाइ र १० फिट अग्लो तथा ५ सय मिटर लामो रहेको छ । सुरुङमार्गको दक्षिणी भाग अलिे पनि राम्रै अवस्थामा छ भने उत्तरी भाग भने पुरिएको छ । उक्त सुरुङमार्गका डिजाइनकर्ता कर्णेल थापाको सम्मानमा उपमहानगरपालिकाले अर्धकदको शालिक निर्माण गर्नुका साथै उक्त सुरुङमार्गको मर्मत तथा संरक्षणमा चासो देखाउँदै आएको छ ।
बागमती प्रदेश सरकारले पनि जीर्ण अवस्थामा रहेको उक्त सुरुङमार्गको संरक्षण र संर्वधन गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले दक्षिण एशियाकै पुरानो सुरुङमार्गमा यातायात चल्ने गरी मर्मत गर्ने तयारी गरेको छ । प्रदेश सरकारले उक्त सुरुङ मार्ग मर्मत गर्न पुरातात्विक विभागसँग परामर्श गरेर पुनर्निर्माण कार्यको लागि बोलपत्र आह्वान समेत गरिसकेको छ । प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेर चुरीया माई सुरुङमार्गको पुनर्निमार्ण कार्य अगाडि बढाएको छ । एक सय वर्ष पुरानो सुरुङमार्गमा पुनः गाडि गुड्नेगरी पुनर्निर्माण गर्ने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारले हेटौंडाको चुरिया माईको सुरुङमार्गलाई भौतिक पूर्वाधार अध्ययन अनुसन्धानको रुपमा विकास गर्ने चाहेको बताइएको छ । बागमती प्रदेशको दक्षिणी र प्रदेश नम्बर २ को उत्तरी सिमानामा चुरीयामाई मन्दिर अवस्थित छ ।