हेटौंडा– उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लैंगिक हिंसा न्यूनीकरणमा महिला समुहको भुमिका विषयक वक्तृत्वकलामा प्रतियोगिता सम्पन्न भएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधारू भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा यहि फाल्गुन २१ गते गाउँपालिकाको प्रांगणमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न महिला सहकारीका महिलाहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा सक्रिय महिला साकोसका सञ्जुमाया लामा प्रथम, सृजना महिला साकोसका विमला शाही द्वितीय र श्रमजीवी महिला साकोसका रञ्जना तिमल्सिना तृतिय हुन सफल भएको निर्णायक मण्डलका ठुलीमैया बलामीले बताइन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७ हजार,५ हजार र ३ हजार नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको महिला तथा बालबालिका शाखाको प्रमुख कमला देवी शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा महाचुनी माबिका प्रधानध्यापक शान्तलाल लामा, कालिकाका सहायक प्रधान्ध्यापक ठुलीमैया बलामी र पञ्चकन्या माविका शिक्षक बिरोस माया थिङले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, कार्यपालिका सदस्यहरु, कर्मचारी, विद्यालयका शिक्षक तथा महिला सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।