चितवन– दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेटेरान बुटवललाई टाई ब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो ।
भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाई ब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भयो । कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रामराज लामाले टाई ब्रेकरमा बुटवलको २ प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके । त्यस अघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४ औँ मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा नै कालभैरव हेटौँडा खेलमा फर्कियो । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौँडाका लागि बराबरी गोल गरे ।
उपाधिसँगै कालभैरवले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बुटवलले ७५ हजारमा चित्त बुझाएको छ । कालभैरव हेटौँडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । यस्तै चितवन भेटेरान रातोका रवीन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ७ गोल गरेका थिए । उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेटेरानविरुद्ध गरेका थिए ।
कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बु उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे । चितवन भेटेरान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।