मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलकुद क्षेत्र राष्ट्रिय समृद्धिको आधार भएको बताउनुभएको छ । हेटौंडामा आजबाट सुरु भएको हेटौंडा मेयर कप २०७७ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विकास र समृद्धिका लागि खेलकुदको धेरै महत्व रहेको वताउनुभयो ।

खेलले सम्बन्ध सुद्धढ गर्न र पहिचान स्थापित गर्न भूमिका खेल्ने साथै मर्यादित र अनुशासित समाज निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले प्रतियोगितामा सबैलाई बिजयी हन शुभकामना दिनुहुँदै खेलमा हार जित हुने भएपनि खेलको मर्यादालाई कायम गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय खेलकुदले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । खेल क्षेत्रको विकासले सामाजिक विकासमा योगदान पु¥याउने उहाँको भनाई थियो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आजबाट सुरु प्रतियोगिता फागुन २४ गते सम्म सञ्चालन हुने छ । नगरका १९ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद दुईलाख र उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँचहजार रुपैयाँ प्रदान गरिने जनाईएको छ ।