मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललले चेतनाको अभावमा विकास सम्भव नरहेको बताउनुभएको छ । हेटौंडा–९ स्थित दिव्यज्योती आधारभुत विद्यालयको अभिभावक भेलाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले समाज विकासका लागि शैक्षिक चेतना अभिबृद्धि हुन जरुरी रहेको बताउनुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख खुलालले विकासका लागि समुदायको चेतना अभिबृद्धि हुनु पर्ने र चेतना अभिबृद्धिका लागि शिक्षा महत्वपूर्ण हुने बताउनुभयो । अभिभावक भेलामा उहाँले विभिन्न समस्याका बिचमा पनि विद्यालयले महत्वपूर्ण र उदाहरणिय काम गरेको भन्दै विद्यालयलाई थप व्यवस्थित बनाउन विद्यालय परिवारले निर्वाह गरेको भुमिका प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयलाई थप व्यवस्थित बनाउन नयाँ ढंगले सोच्न जरुरी रहेको समेत बताउनुभयो ।

भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले १४३ जना विद्यार्थीहरु अध्यनरत विद्यालयले कोभिड महामारीका समयमा समेत सिकाई सहजीकरण, घरदैलो एवम् घुम्ती कक्षा जस्ता शिक्षण सिकाईका कामलाई निरन्तरता दिएको जानकारी दिनुभयो । अंग्रेजी माध्यमबाट अध्यापन भईरहेको विद्यालयले भौतिक सञ्रचना, विद्यार्थीका लागि यातायात, सुद्ध पिउने पानी, खेल मैदान, दिवा खाजालगायतको उचित व्यवस्थापन गरेको जानकारी दिनुभयो । भेलामा उहाँले आगामी दिनमा छुट्टै बाल विकास भवन निर्माण, विद्यालय भवनको मर्मत, थप शिक्षक व्यवस्थापन, ईन्टरनेटसहितको कम्प्युटर कक्षालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

आजको भेलालले नयाँ व्यवस्थापन समिति समेत गठन गर्ने बताईएको छ । आजको भेलाले व्यवस्थापन समतिकालागि नाम अनुमोदन गरेको र छिट्टै बैठक बसेर अध्यक्ष र सदस्यहरु चयन गरिने विद्यालयका शिक्षक पुरुषत्तम आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा प्रगती माविका प्राचार्य निरञ्जन ढकाल, बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासुदेव प्याकुरेल, दिव्यपथ टोल विकास संस्थाका अध्यक्ष प्रकाश चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
