काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । जनसभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतले सम्बोधन गर्नुहुनेछ ।
सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले अब तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभएको छ । उहाँले मांसाहारी आन्दोलन गर्नेहरूलाई ‘जू’ मा लगेर बन्द गर्ने समेत चेतावनी दिनुभएको छ । केही दिनअघि नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइलाई लक्षित गर्दै गृहमन्त्री थापाले सचेत हुन आग्रह गर्नुभएको छ । दुई तिहाईको बहुमत प्राप्त सरकारलाई विस्थापन गर्ने षड्यन्त्रकै कारण अहिलेको अवस्था आएको गृहमन्त्री थापाको दाबी छ । नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निकालिएको थियो ।