काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जस्तोसुकै प्रतिकुलता आएपनि मुलुकको रक्षाका लागि डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुलुकको अराजकता अस्थिरता समाप्त गर्ने अभियानमा आफूहरु रहेका बेला केही तत्वहरुले विभिन्न बहानामा अवरोध गरेपनि आफूहरु देश र जनताका लागि अगाडि बढेको बताउनुभयो । जनताको बीचमा गएर सबै गलत शक्तिलाई परास्त गरी मुलुकको सार्वभौम, गणतन्त्र, लोकतन्त्र, स्वाधिनता तथा राष्ट्रिय एकतालाई कायम गरिछाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । “हामीले भनेका थियौं राजनीतिक स्थायित्व हुन्छ, संविधानको रक्षा हुन्छ, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा हुन्छ, तर दुर्भाग्य १ केही तत्वहरु सो अभियानलाई विथालेी मुलुकमा पुनः संकट उत्पन्न गर्न खोज्दैछ” उहाँले थप्नुभयो, “त्यस्तो शक्तिलाई हामीले सफल हुन दिन्नौं, मुलुकको रक्षा गरेरै छाड्छौं ।” नेपाली जनताको चाहना अनुसार मुलुक अगाडि बढ्छ उहाँले भन्नुभयो । “हामी ताजा जनादेशमा जाने निर्णय गरेका छौं, जनताले जे फैसला गर्छन्, त्यो हामी स्वीकार्छौं” उपप्रधानमन्त्री पोखरेलले थप्नुभयो, “समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो मुख्य उद्देश्य हो ।”
विहिबार बन्दको नाममा ट्याक्सी जलाउने र तोडफोड गर्नु हतास मानसिकता भएको बताउँदै उहाँले ट्याक्सीको क्षतिपूर्ति सरकारले प्रदान गर्ने बताउनुभयो । यो लडाईलाई कुनै पनि बहानामा कमजोर हुन दिने छैनौं, यो झण्डा झुक्न दिने छैनौं उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “यो लडाईलाई कुनै हालतमा कमजोर हुन दिन्नौं, आजको उपस्थितिले त्यही सन्देश दिइरहेको छ ।” “जतिसुकै छलछाम र अबरोध गरिए पनि यो लडाई मुलुकको राजनीतिक स्थायित्व र आर्थिक विकास र समृद्धिको हो, हामी यसलाई पूरा गरेर छाड्छौं” उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।
नेकपा बागमति प्रदेशका अध्यक्ष तथा कार्यक्रम सञ्चालक आनन्द पोखरेलले आमसभालाई विथोल्नेगरी २२ गते अर्को पक्षले बन्दको आव्हान गरेपनि त्यसले केही फरक नपरेको बताउनुभयो । विभिन्न बहानामा आभसमालाई असफल पार्न खोज्ने शक्तिहरु किनारा लागेको उहाँले बताउनुभयो ।