महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको सुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।
ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैङ्कको खातामार्फत जरिवाना रकम भुक्तानी हुने गरी प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैङ्कमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताउनुभयो । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत बचत हुनेछ ।
उद्घाटन कार्यक्रममा सेवा प्रदायक कम्पनी ई–सेवा फोन पे प्रा.ली. र नेपाल क्लियरिङ्ग हाउस लि. (कनेक्ट आइपिएस्) का प्रतिनिधिहरूको उपस्थितिमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । ई–सेवाको तर्फबाट प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आइपिएस्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरूसँग समेत जोडिन आवश्यक समन्वय भइरहेको महाशाखाले जनाएको छ । यो प्रविधिबाट तोकिएका बैङ्कको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यो अनलाइन प्रविधि ट्राफिक प्रहरी महाशाखाको लागि माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहीलाई सहज एव सरल रुपमा सेवा दिन सधैँ तत्पर रहेको महाशाखाले जनाएको छ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।