हेटौंडा– विभागीय टोली त्रिभुवन आर्मी क्लब मेयर गोल्डकप प्रतियोगिता २०७७ काे सेमिफाइनलमा प्रवेश गरेको छ । महोत्तरीकाे भंगाहा नगरपालिकाकाे आयोजना र नेसनल युवा क्लबको सह-आयोजनामा सितापुरको सिद्दपुरस्थित श्री माबिको खेलमैदानमा जारी पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिए पछि आर्मीले खेल सडन डेथमा ६–५ गोल अन्तरले जितेको हो । पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, दिपक गुरुङ, टेक बहादुर बुढाथोकी, बिबेक बस्नेत, गौतम श्रेष्ठ र आशिष् साक्यले गोल गरेका थिए भने राजिभ गुरुङ गोल गर्न असफल भएका थिए । यता धरानका लागि बिबेक राई, बिनु सुनुवार, बिट्टु तामाङ, अहिल इक्बाल र याओले गोल गरे भने मनोज राई र मिलन लिम्बू पेनाल्टीमा चुकेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन र पेनाल्टीमा दुई पेनाल्टी जोगाएका आर्मीका गोलरक्षक विशाल चौधरी म्यान अफ दि म्याच घोषित भए ।
अब आर्मीले फाइनल प्रवेशका लागि माघ १८ गते हुने लेखनाथ युनाइटेड र बेङ्गखाडी बिचको तेस्रो क्वाटरफाइनलको विजेतासँग माघ २१ गते प्रतिस्पर्धा गर्नेछ । दुई बलिया विभागीय टिम, एपीएफ र आर्मीको सहभागीता रहेको यस् प्रतियोगिताको विजेतालाई पाँच लाख तथा उपविजेतालाई दुई लाख पुरस्कार रकम तोकिएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई नगर रु. ११ हजार रुपैयाँ पुरस्कार रकम प्राप्त गर्नेछन् । प्रतियोगितामा भोली आइतबार शसस्त्र प्रहरीको एपीएफ र सतासीधाम बिच दिउँसोको २ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण नेपालस्पोर्ट्सको फेसबुक र युटुब तथा मुनलाइट टिभिबाट प्रत्यक्ष रुपमा हेर्न सकिनेछ ।