हेटौंडा– विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनले अन्य क्षेत्रसँगै न्याय सम्पादनमा पनि असर पारेको बताइएकाे छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले मकवानपुरका सञ्चारकर्मीहरुसँग गरेको छलफलमा इजलासका मुख्य न्यायाधीश मोहम्मद साविर हुसेनले कोरोना भाईरस रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनका कारण न्याय सम्पादनमा केही ढिलाई भएको बताउनुभएकाे हो ।
मुख्य न्यायाधीश हुसेनले कोभिडका कारण भएको लामो लकडाउनका कारण लक्ष्य अनुसारको कार्यसम्पादन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले उच्च अदालत पाटन हेटौंडा इजलासमा २०७६ चैत ९ गते देखि असार मसान्तसम्म जारी लकडाउनका बेला १ सय ९४ मुद्दा दर्ता भएको मध्ये १ सय १७ वटा मात्र फछ्यौट भएको जानकारी दिनुभयो । छलफल कार्यक्रममा हेटौंडा इजलासका मुख्य न्यायाधीश मोहम्द साजिद हुसेनले सञ्चारकर्मीहरुलाई न्यायालयको विश्वास बढाउने काम गर्न आग्रह गर्नुभयो ।
उच्च उदालत हेटौंडा ईजलासमा चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ६ सयवटा मुद्दा दर्ता भएको र २ सय ४५ वटा मुद्दाको फछ्यौट भएको बताईएको छ । जसमध्ये चालु आर्थिक वर्षको ९५ वटा र बाँकी २ वर्ष भित्रका मुद्दाहरु फछ्यौट भएको अदालतका प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा गत आर्थिक वर्षमा ४ सय ८ मुद्दाको जिम्मेवारी सरेर आएको छ । हेटौंडा इजलासमाहाल ७ सय ६३ मुद्दा फछ्यौंट हुन बाँकी रहेको जस मध्ये पछिल्लो ६ महिना भित्रका ३ सय ४८ मुद्दाको फछ्र्यौट बाँकी रहेको छ । यस्तै ६ महिना देखि एक वर्ष सम्मका ३ सय २१, एक देखि डेढवर्ष भित्रका ८३, डेढ देखि २ वर्ष भित्रका ९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा फछ्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । छलफल कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीशहरु राजकुमार वन, चण्डीराज ढकाल, हरिप्रसाद केसी, नागेन्द्रलाल कर्ण, मेरिना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।