मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आज बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य अरुण प्रसाद नेपालले मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो ।
प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा सदस्य नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्न अनुमति दिनुभएको थियो । अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश सभा सदस्य नेपालले मुख्यमन्त्री पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गर्नुभएको छ । अविश्वासको प्रस्ताव उपर आगामी माघ १९ गते बस्ने प्रदेश सभा बैठकमा छलफल हुने छ । सभामुख श्रेष्ठले प्रदेश सभाको आउँदो १९ गते दिउसो २ बजे बस्ने र बैठकमा अविस्वासको प्रस्तावमाथि छलफल हुने गरि आजको बैठक सकिएको जानकारी गराउनुभएको थियो ।
मुख्यमन्त्री पौडेल विरुद्ध गत पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो । बागमती प्रदेशको प्रदेश सभामा एक सय १० जना सदस्य रहेकामा छन र बहुमतका लागि ५६ जना सदस्यको आवश्यक्ता पर्ने छ । प्रदेश सभामा कांग्रेसका २२, विवेकशील साझाका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद एक जना छन् ।