अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताउनुभएको छ । बुधवार कृषि विकास बैङ्क लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोनाका कारण राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकूलता रहे पनि अन्य क्षेत्रमा आर्थिक सूचकहरू सकारात्मक रहेको बताउनु भयो ।
कोरोनाका बाबजुद देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको भन्दै अर्थ मन्त्री पौडेलले छिटोभन्दा छिटो भ्याक्सिन आयात गरेर आम नागरिकलाई निःशुल्क उपलब्ध गराउने उल्लेख गर्नु भयो । अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप वितरण फ्रन्टलाइनमा खटिएकाहरूबाट शुरु गरेर क्रमशः आम नागरिकमा पुर्याउने बताउनु भयो । कार्यक्रममा अर्थ मन्त्री पौडेलले किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न “कृषि बण्ड“ र “किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप“को पनि शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारले डिजिटल फ्रेमवर्क अवधारणा अनुरूप वित्तीय क्षेत्रमा बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैङ्क अघि बढेको बताउनु भयो । बैङ्कका अध्यक्ष लक्ष्मिप्रपन्न निरौलाले बैङ्कले आगामी दिनमा उच्च मूल्य प्राप्त हुने फलफूल, गाईभैंसी फार्म र उत्पादन एवं उत्पादकत्व बढाउने क्षेत्रमा कर्जा बिस्तार गर्ने बताउनु भयो ।