मकवानपुर– निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ । आयोगद्धारा मतदान स्थल र मतदान केन्द्रको पुनरवलोकन गर्न कार्यविधि पारित गरेसंगै जिल्ला स्थित कार्यालयले तयारी सुरु गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले सोमबार एक कार्यक्रमको आयोजना गरेर मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ का बारेमा जानकारी दिन साथै सोको कार्यान्वयनका लागि मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकन सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पाैडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति गठन गरेर कार्य अगाडी बढाएको जानकारी दिनुभयो । अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदान स्थल तथा मतदान केन्द्र पुन्वलोकनसम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने हुनाले कार्यक्रमको आयोजना गरिएको समेत उहाँले जानकारी दिनुभयाे ।
प्रमुख जिल्ला अधिकारी रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुखहरुलगायतको सहभागिता थियो ।