महिला राष्ट्रिय फुटबल लिग माघ ७ गतेदेखि शुरु हुने भएको छ । विगतमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला लिग ६ महिनासम्म सञ्चालन गर्ने बताए पनि कोरोना भाइरसको महामारीका कारण यस वर्ष ढिला गरी सुरु हुन लागेकाले एक महिना मात्रै चल्ने जनाइएको छ । प्रतियोगितामा कुल ४२ खेल हुनेछन् ।
एन्फाका अनुसार माघ ७ गतेदेखि शुरु हुने लिग फागुन ७ गतेसम्म चल्ने छ । प्रतियोगितामा ७ टिमको सहभागिता रहने पनि जनाइएको छ । ३ वटा विभागीय टिम र ४ वटा नगर स्तरीय टिमले यो लिग खेल्ने एन्फाले जनाएको छ । डबल राउन्ड रोविन लिगमा प्रतियोगिता सञ्चालन हुने छ । कोरोनाका कारण यो बर्ष एन्फाले महिला लिगलाई एक महिनामा नै सक्ने भएको छ । किनकि अर्को बर्ष फेरी यो लिग गर्नुपर्ने र त्यसको तयारीका लागि समय कम हुने भएकाले यो बर्ष एक महिनामा नै लिग सक्ने एन्फाले निर्णय गरेको छ । यसका साथै यो वर्षबाट नै विभागीय टिम बाहेकका अरू ४ क्लबले ४ जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् ।
यस पटक महिला लिगको पुरस्कार राशि बढाइने छ । यो पटक महिला लिगको विजेताले १५ लाख पाउने छन् । दशरथ रङ्गशाला तथा सातदोबाटो, एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने लिग डबल राउन्ड रोविन फर्म्याटका आधारमा हुनेछ । यही प्रतियोगिताका बेला पुरुष राष्ट्रिय टिमको प्रशिक्षण पोखरामा गरिने भएको छ । यसका लागि एन्फाले सबै व्यवस्था मिलाइसकेको छ ।