मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) का केन्द्रिय सदस्य रघुनाथ खुलालले पाट्री एकताको समयमा गरिएको सहमति र जिम्मेवारीलाई बेवास्ता गर्दा पाट्रीमा अहिलेको अवस्था सृजना भएको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा बिहीबार आयोजित वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पाट्री एकता हुँदाको सहमति र जिम्मेवारीको उल्लङ्घन, कार्य विभाजनको बेवास्ताका कारण नै अहिलेको अवस्था सृजना भएकोे बताउनुभएको हो ।

नेता खुलालले प्रचण्डलार्ई पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सम्पन्न गर्न, महाधिवेशनलाई केन्द्रित गरेर काम गर्न कार्यकारी अधिकार दिएको तर प्रचण्डले आफ्नो जिम्मेवारी पुरा गर्न छाडेर व्यक्तिगत स्वार्थ र पदकै लागि सरकारलाई बारम्बार अफ्ट्यारोमा पार्ने काम गरेको बताउनुभयो । उहाँले सरकारका राम्रा कामहरुको वेवास्ता गर्दै प्रचण्ड र माधव नेपालले सत्ता प्राप्तीमा ध्यान दिएर सरकारलाई अफ्ट्यारो पार्ने काम गर्नु, प्रधानमन्त्री माथि आरोप लगाउने र विभाजनलाई राष्ट्रव्यापी बनाउने काम गर्नुभएको बताउनुभयो ।

उहाँले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गर्नुभएको भन्दै जनताको प्रतिनिधिले जनताबीच जान्छु भनेर प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले चाल्नुभएको कदमलाई अन्यथा लिनुपर्ने कुनै कारण नभएको भन्दै वैशाखमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन समेत उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको समेत बताउनुभएको छ ।

१० नम्बर वडा कमिटी अध्यक्ष राजकुमार विकको अध्यक्षतामा भएको भेलामा नेकपा केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, जिल्ला सचिवालय सदस्य एकलाल श्रेष्ठ, फुर्वादोर्जे लामा, जिल्ला कमिटि सदस्य देवराज रिमाल, उमा सुनार, १० नम्बर ईन्चार्ज धुब्र हाडालगायतको उपस्थिती थियो ।