हेटौंडा– ३ नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोईरालाले स्वदेशी हस्तकला व्यवसायको प्रर्बद्धन गर्नुपर्ने बताउनुभएको छ । श्रृजनशील महिला उद्यमी मेला–२०७६ को बिहीबार हेटौंडामा उद्घाटन गर्दै प्रदेश प्रमुख कोईरालाले आर्थिक समृद्धिका लागि स्वदेशी हस्तकला उत्पादनको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्दन गर्नुपर्ने बताउनुभएको हो ।
स्वदेशी हस्तकला उद्योगको बजारीकरणकालागि मेलाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै उहाँले मेला हेर्न आउँदा आफैला उर्जा महसुस भएको बताउनुभएको छ । उहाँले महिलालाई हौसला प्रदान गर्न सबैलाई सुझाव समेत दिनुभयो । प्रमुख कोईरालाले महिललाई उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनु पर्ने र यसमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मेलाका माध्यमले स्वदेशी उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिलले गरेका धेरै कामहरु सफल भएका उदाहरण दिँदै महिलाको आत्मबल बढ्ने खालका कार्यक्रमहरुमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाका उत्पादन बजार सम्म ल्याउन उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । महिलाहरुले गर्ने विभिन्न कार्यक्रमहरुलाई उपमहानगरपालिकाले सहयोग गरेको भन्दै महिलाको शसक्तिकरण र विकासमा सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महिला सिर्जनशील केन्द्र काठमाण्डौँ तथा मकवानपुर महिला उद्यमी ब्यवसायी संघको संयुक्त आयोजनामा मेला आयोजना भएको हो । भदौ ७ गते सम्म हेटौंडाको पल्पसाहलमा सञ्चालन हुने मेलामा ४० वटा स्टल रहने जस मध्ये ३० वटा स्टलमा घरेलु उत्पादनलाई मात्र प्राथमिकता दिईएको आयोजक सस्थाकी अध्यक्ष तथा मेला संयोजक शुसिला पाण्डेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेपाल उद्योग बाणिज्यसंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, महलिा श्रृजनशील केन्द्र काठमाण्डौका निलु थापा, महिला उद्यामी व्यावसायी संघका सल्लाहकार सर्मिला डंगोल लगायतकाको सहभागिता रहेको थियो ।