नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको बताउनुभएको छ । मङ्गलबार बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको भेला गर्दै प्रधानमन्त्री ओलीले महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकोले पार्टीले गति लिन नसकेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “अब त उहाँहरू महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरू नेताहरु निकाल्ने यो बाटोतिर पो खेती गरिराख्नु भएको छ । एकीकरणको बाटोबाट पार्टी अगाडि बढाउने होइन बरु उहाँहरू भत्काउने, कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यही प्रकारको खेती गर्नुभएको छ ।”
कार्यक्रममा ओलीले ११ महिनाभित्र महाधिवेशन गरिसक्ने बताउनुभएको छ । साथै उहाँले अब चुनावको तयारीमा जुट्ने बताउनुभयो । “अर्को चुनावपछि अरू कामहरू बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरूलाई पुनर्गठन गर्ने, यावत् कामहरू गर्नुपर्ने अवस्था छ । यी सबै काम गरेर हामी चुनावका लागि तयारी गर्छौँ । चुनावमा हामीले कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ ।”
केन्द्रीय कमिटी सदस्यहरूको भेलामा ओलीले एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको छ । नेकपाको अहिले कायम रहेको चार सय ४७ केन्द्रीय समिति सदस्यमा पाँच सय ४७ सदस्य थप गर्नुभएको छ भने बाँकी एक सय ९६ सदस्यपछि थपिने व्यवस्थासमेत बैठकले गरेको छ । ओली पक्षले २०७८ मङ्सिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरूलाई अध्यक्ष ओलीले मङ्गलबार नै सपथ ग्रहणसमेत गराउनुभएको छ ।