मकवानपुर– मकवानपुरमा विपद प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट भुमिका निर्वाह गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीले पाएको छ । मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस अघि प्लान इन्टरनेसनलले निर्वाह गर्दै आएको भुमिका रेडक्रसलाई प्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले विपद व्यवस्थापन तथा विपद प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट प्लान ईन्टरनेसनलले निर्वाह गर्दै आएको जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई दिने निर्णय गरेको हो । मकवानपुर जिल्लाबाट प्लान ईनटरनेसनल बाहिरीने हुनाले उक्त जिम्मेवारी रेडक्रसलाई प्रदान गरिएको हो । प्लान ईन्टरलेसनलले मकवानपुरमा रहदा गैरसरकारी संस्थाका तर्फबाट विपदमा उद्धारलगायत विभिन्न सहयोग गर्दै आएको थियो । लामो समय मकवानपुरमा काम गरेको प्लान ईन्टरनेसनल यसै वर्षबाट मकवानपुरबाट बाहिरिदै छ ।
त्यस्तै बैठकले जिल्ला प्रसाशन कार्यालयद्धारा तयार पारिएको विपद प्रतिकार्य योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । जिप्रकाद्धारा तयार पारिएको विपद प्रतिकार्य योजना बैठकले अनुमोदन गरेको हो । यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा खेलाले बगाएर मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत असोज १२ गते यता खोलाले बगाएर मृत्यु भएका ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्ला स्थित विभिन्न नदि, खोला, खहरेहरुमा वर्षाका बेला आइपर्ने समस्या न्युनिकरणका लागि त्यस्ता प्रभावित स्थानबाट नदिजन्य पदार्थ निकाल्ने निर्णय गरेको छ । स्थानीय तहबाट पहिचान भईआएका स्थानहरुमा प्राविधिक सहित स्थलगत निरिक्षण गरि प्रभावित स्थानबाट आवश्यक नदिजन्य पदार्थ निकाल्ने निर्णय गरेको हो । स्थलगत निरिक्षणगरि रिपाेर्ट पेश गर्नेगरी जिससका शाखा अधिकृत भीमलाल महर्जनको नेतृत्वमा जिप्रकाका अधिकृत प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि, सम्बन्धीत स्थानीय तहका प्राविधिक प्रतिनिधि र जिससका प्राविधिक प्रतिनिधिसहितको ५ सदस्य समिति समेत गठन गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा विपद व्यवस्थापन समितिका सदस्य हेटौंडा उपमहानगरपालिकाका उपमेयर मनिा लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखलगायत समितिका अन्य सदस्यहरुको उपस्थिती थियो ।