हेटौंडा– जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुशिल सिंह राठोर सम्मानित हुनुभएको छ । अन्यायमा परेका र असाहय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको क्षेत्रमा काम गर्ने सामाजिक संस्था मञ्जुश्री असाहय संरक्षण केन्द्रको मकवानपुर शाखाले मंगलबार प्रहरी उपरिक्षक राठोरलाई सम्मान गरेको हो ।
नेपाल सरकारले गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी उपरिक्षक राठोरलाई प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको सन्र्दभमा मंगलबार हेटौंडा स्थित न्युज क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले बधाई, शुभकामना तथा सम्मान गरेको हो । उहाँलाई कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मञ्जुश्री असाहय संरक्षण केन्द्रको केन्द्रीय अक्ष्यक्ष मञ्जु खाँड, केन्द्रीय सल्लाहकार धनु माया मगर, सुवास श्रेष्ठ, जिल्ला अध्यक्ष सम्पूर्ण कुमारी सिग्देल, रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खाति लगाएतले खाँदा, अविर र माला लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख पुडासैनीले आफुहरु अझै पनि महिलाको हक, अधिकारको लागि लडिरहेको बताउनुभयो । उहाँले अझै पनि समाजमा महिलाहरुलाई सजिलै कार्यक्रममा निस्कने सहज वातावरण सृजना भईनसकेको बताउनुभयो । उहाँले आफ्नो हक, अकिारकाको लागि आफैँ अघि बढ्नु पर्ने भन्दै मञ्जुश्री असाहय संरक्षण केन्द्रले गरेको कार्यहरुमा आफ्नो साथ तथा सहयोग सदैव रहने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मञ्जुश्री असाहय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष खाँडले अन्यायमा परेका असाहय महिला ,बालबालिकाहरुको उद्धार,संरक्षण तथा न्यायको लागि आफुहरुले काम गरिरहेको बताउनुभयो । उहाँले हाल चितवनमा २२ जना बालबालिकाहरु केन्द्रको संरक्षणमा रहेको बताउनुभयो । उहाँले अहिले देशका २३ जिल्लामा केन्द्रको शाखा गठन गरेको र आउँदो दिनहरुमा ७७ वटै जिल्लामा केन्द्रको शाखा गठन गरिने समेत बताउनुभयो । देशमा बलात्कार,हत्या जस्ता हिंसाहरुबढेको चिन्ता गदै उहाँले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक राठोरले मकवानपुरमा बलात्कार, हत्या जस्ता हिंसाहरु बढेको बताउनुभयो । उहाँले जिल्लामा घटेको घटनाको जानकारी दिँदै जिल्लामा भएका घटनाहरुमा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको समेत दाबी गर्नुभयो । समाज सचेत भए महिला हिंसाहरुका घटनाहरु पनि कम हुने उहाँको भनाई थियो । कार्यक्रम मञ्जुश्री असाहय संरक्षण केन्द्र मकवानपुर शाखाकी अध्यक्ष सम्पूर्ण कुमारी सिग्देलको सभादक्ष्यतामा भएको हो ।