सांकेतिक तस्विर

निशा गुरुङ/हेटौंडा

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने लैङिगक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सकिएको छ । “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताःव्यत्ति, समाज र सबैको एक्यबद्धता” भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरेर मनाईएको हो ।
१६ दिने अभियानले हरेक महिलामा हिंसा विरुद्ध आवाज उठाउन र हिंसा बिरुद्ध लड्न हौसला मिलोस भनी हरेक वर्ष कार्यक्रम गर्दै आईरहेको छ । तर, लैङिगक हिंसाविरुद्धको अभियानका क्रममा हेटौंडाका होटलतिर अन्तरक्रिया लगायत विभिन्न जनचेतनामुलक कार्यक्रम भैरहँदा मकवानपुरको विभिन्न ठाँउमा भने महिला हिंसाका घटना भैरहे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्ममा हिंसाका २४ वटा उजुरी दर्ता भएका छन् । ती मध्ये १३ वटा घरेलु हिंसा, २ वटा जर्वजस्ती करनी र ९ वटा अन्य महिला हिसाका उजुरी रहेको छ । सरकारी तथा गैर सरकारी निकायहरुले आफनो जिम्मेवारी अन्तर्गत सबै कार्यक्रमहरु भएपनि महिला हिंसा भने कम नभएको तथ्यांकले देखाउछ । लैङिगक हिंसा सम्बन्धी यस्ता कार्यक्रमहरु मनाइदै गर्दा अभियानको केन्द्र हेटौंडामा मात्र हुने गरेको छ । यस्ता अभियानले हेटौंडांलाई मात्र केन्द्र बनाउदा जिल्लाभर पीडामा रहेका महिला र पुरुष अभियानबाट टाढा रहेको प्रहरीको भनाई छ ।
सम्बन्धित निकायले यस्ता अभियान सञ्चालन गर्दा ग्रामिण तहदेखि राजधानीसम्मलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताउनुभयो । अभियान मार्फत जनचेतना अभिवृद्धि गर्ने भए पनि घरेलु हिंसा, महिला महिलाबिच हुने हिंसालाई शुन्यमा झार्ने उदेश्य रहेपनि शुन्यमा झर्न अझै समय लाग्ने उहाँको भनाई छ । यस्ता अभियान हेटौंडामा नै केन्द्रित भइरहँदा अभियानको महत्व कमजोर बन्दै छ । यस्ता अभियान जहाँ शिक्षाको कमि छ त्यहाँ सञ्चालन हुनु आवश्यक छ,अनिमात्र यस्ता अभियानले सार्थकता पाउने उहाँको भनाई छ । हिंसाका निबेदन परेकाहरुलाई बोलाएर मेलमिलापको कोसिस गर्ने गरेको र कानुनी दायरामा समेत ल्याउने गरेको प्रवक्ता रानाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले कोभिड १९ पछि मकवानपुरमा पनि विशेष गरी बलात्कारको घटना बढेको बताउनुभयो । कोभिड १९ मा महिलाहरुलाई घरायसी कामको चापको संगसंगै प्रजनन् हिंसा र यौनजन्य हिंसालगायत महिलाहरुले सबै खाले हिंसा व्यहोर्नु परेको उहाँको भनाई छ । सबै मिलेर अगाडि बढे मात्रै लैंगिक हिंसाका घटनामा कमी आउने उहाँले बताउनुभयो । पुडासैनीले लक्षित वर्ग नयाँ खोज्न नसक्दा लैंगिक हिंसामा कमी ल्याउन नसकेको बताउनुभयो । महिलाहरुलाई पद मात्रै दिएर अधिकार नदिएको उहाँको आरोप छ । अहिले पदमा रहेकाहरुमाथि पनि हिंशा भइरहेको तर प्रतिष्ठाका कारण सार्वजनिक गर्न हिच्किचाहट रहेको उहाँले बताउनुभयो ।