मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार मकवानपुरको मनहरी गाउँपालिकामा १५ शैयाको अस्पता भवनको शिलान्यास गर्नुभएको छ । देशैभर ३९६ वटा अस्पतालहरुको आज शिलान्यास गर्ने क्रममामा मनहरी गाउँपालिका–७ मा निर्माण हुने १५ शैयाको अस्पताल भवनको मुख्यमन्त्री पौडेलले शिलान्यास गर्नुभएको हो ।
१८ करोडको लागतमा बन्ने उक्त भवनको लागि संघीय स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा केही बजेट निकास गरेकोे गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाअध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, बागमती प्रदेशका सांसद ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाका १० स्थानीय तह मध्ये आज मनहरीसहित ५ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिएको छ । जिल्लाको थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५÷१५ शैयाको, जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०÷१० शैयाको र इन्द्रसरोवर गाउँपालिकामा पाँच शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो ।
सङ्घीय सरकारको लागनीमा निर्माण गर्न लागिएको उक्त अस्पतालका लागि चालू आर्थिक वर्ष ०७७÷७८ मा थाहामा एक करोड, मनहरीमा ८५ लाख, राक्सिराङ तथा कैलाशमा ८५ लाख र इन्द्रसरोवर गाउँपालिकामा ७० लाख बजेट विनियोजित भइसकेको छ । अस्पता निमाृणका लागि थाहा र मनहरीमा निर्माण गर्न लागिएको अस्पतालका लागि कूल १८ करोड ६ लाख ८२ हजार ,कैलाश र राक्सिराङमा १० करोड ८३ लाख ३६ हजार तथा इन्द्रसरोवरमा रु सात करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ ।