हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका दीर्घरोगीहरुकोे घरमै उपचार गर्ने योजना बनाएको छ । गाउँपालिका क्षेत्र भित्रका क्यान्सर, मृगौला, मुटुरोग, एचआइभी जस्ता दीर्घरोग लागेर घरमै जीवन मरणको अवस्थामा बस्नुपर्ने बाध्याताबाट मुक्ति दिन गाउँपालिकाले घरमै उपचार सेवा दिने योजना ल्याएको हो ।
गाउँपालिका भित्र रहेका दीर्घरोगबाट पीडित नागरिकहरुको घरैमा पुगि निःशुल्क उपचार सेवा दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो । घरमा उपचार गर्न नसकिने बिरामीको लागि अन्यत्रै लगि उपचार गर्ने योजना समेत रहेको लामाले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत दीर्घरोगीको समस्यालाई ध्यानमा राखी यस्तो योजना निर्माण गरिएको उहाँले बताउनुभएको छ ।
त्यस्तै गाउँपालिका भित्र रहेको दीर्घरोगीहरुको पहिचान र रोगको प्रकृति विश्लेषणको काम छिट्टै थालेर उपचारको लागि अहेव भर्ना गर्ने तयारी गरिएको समेत लामाले बताउनुभयो । दीर्घरोगीको उपचारका लागि गाउँपालिकाले पाटन अस्पताल संग समन्वय गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।