फाइल फाेटाे

मकवानपुर – मकवानपुरको रजैयामा पूर्वी राप्ती नदिले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । रातिदेखि नै ठूलो पानी परेका कारण मकवानपुरको रजैयामा पूर्वी राप्ती नदी र तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैगरी गोरखा, लमजुङ, मकवानपुर, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । तटीय क्षेत्रहरु र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।