मकवानपुर– सांग्रीला डेम्लपमेन्ट एसोसियसनलाई आगामी आर्थिक वर्षका लागि मकवानपुरको कैलाश गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । जिल्ला सल्लाहाकार समिति मकवानपुरका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले उक्त संस्थालाई आर्थिक वर्ष २०७७÷०७८ मा कार्यक्रम सञ्चालनको अनुमति प्रदान गरेको हो ।

सांग्रीला डेम्लपमेन्ट एसोसियसनले कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ मा कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीको क्षेत्रमा कार्य गर्दै आएको उक्त संस्थालाई आगामी आर्थिक वर्षका लागि पनि अनुमति प्रदान गरिएको हो । बैठकमा संस्थाका तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालित कार्यक्रम तथा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । संस्थाले उक्त क्षेत्रमा शैक्षिक गुणस्तर सुधार, छात्रबास, स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम, आग्रानीक कृषि, सचेतनामुलक कार्यक्रमलगायत खानेपानीको क्षेत्रमा कार्य गर्दै आएको छ ।

बैठकमा संस्थाले आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा शिक्षा तर्फ दिवा खाजा कार्यक्रम, स्कुल ड्रेस, स्टेसनरी, खेलकुद सामग्री, शैक्षिक सामग्री, लाईब्रेरी, ईसीडी कक्षालाई सहयोग, छात्राबासको व्यवस्था, ट्युसन तथा स्टेसनरी, बालबालीकाको स्वास्थ्य बिमालगायत कार्यक्रम गर्ने जनाएको छ । यस्तै स्वास्थ्य क्षेत्र तर्फ विभिन्न आमा समुहसंग अन्तरकृया तथा तालिम, स्वास्थ सेवा खर्च सहयोग, सुत्केरी भेटघाट कार्यक्रम, स्वास्थ्य शिविर, सेनेटरी प्याड बनाउने तालीम, विद्यालय स्वास्थय कार्यक्रम, सुधारीयको चुल्होलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यस्तै संस्थाले कृषि क्षेत्रमा बेमौसमी तरकारी खेती तालिम, आग्रानीक खेती तालिम, कृषक भेला, विशेषज्ञद्धारा अनुगमन, पशुपालन व्यवस्थापन तालिम, कृषि व्यवस्थापन तालिम, नर्सरीलगायत एक पटककालागि लिफ्टीङ खानेपानी आयोजना, तथा मेडिकल वेस्ट व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाले स्थानीय तहसंगको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले आर्थिक पारदर्शितासहित स्थानीय तहसंगको सहकार्य तथा समन्वयमा नदोहोरीने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिल्ला स्वास्थय कार्यालयका प्रमुख प्रणय उपाध्याय, कैलाश गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, संस्थाका अध्यक्ष जयशंकर उपाध्यायलगायतको सहभागिता थियो ।