मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित चन्द्रोदय नमुना माध्यमिक विद्यालयमा शनिबार बृक्षारोपण गरिएको छ । विद्यालय हरियाली कार्यक्रमकाे “एक विद्यार्थी एक बृक्षा रोपण कार्यक्रम” अन्तगत डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा बृक्षारोपण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बृक्षा रोपण गर्दै प्रमुख खुलालले रोपिएका विरुवाको संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले नमुना विद्यालयलाई साच्चै नमुना बनाउने काममा सबै लाग्नु पर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय मकवानपुरको दोस्रो चरणको कार्यक्रम अन्तरगत उक्त विद्यालयमा आज विभिन्न अर्नामेन्टल (सजावट) का १५० वटा विरुवा रोपिएको हो । आज गुलमोहर, कल्की, बोटलपाम, धुपीलगायतका विरुवा रोपिएको हो । यस अघि उक्त विद्यालयमा मुख्यमन्त्री डोरमणि पौडेलले अघिल्लो वर्ष फलफुलका बिरुवा रोप्नुभएको थियो । बृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य गणेश कुमारी प्रधान, ८ नम्बर वडा अध्यक्ष गोपालबहादुर श्रेष्ट, डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत अच्युत लामिछानेलगायतको सहभागिता थियो ।