मकवानपुर– नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मकवानपुरमा ६७३ विपन्न परिवारको घरको छानो फेरीने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, ईन्द्रसरोवर, भिमफेदी र मकवानपुरगढी गाउँपालिकामा ६७३ घरमा खरको छानो विस्तापित गरेर जस्ताको छानो लगाईने भएको हो ।

आईतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका ६७३ लाभग्राही सख्या निर्धारण भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाईरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिईएको हो । मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा एक सय घर, भीमफेदी गाउँपालिकामा ५० घर, कैलाश गाउँपालिकामा ७५ घर, मकवानपुरगढी गाउँपालिकामा ५० घर, मनहरी गाउँपालिकामा एक सय घर, राक्सीराङ गाउँपालिकामा एक सय ७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणकालागि निर्धारण गरिएको छ ।
उक्त कार्यक्रम अन्तरगत पालिकाका अतिविपन्न, गरिब र भुकम्प पुननिर्माणमा नपरेका परिवारले मात्र यो सेवा प्राप्त गर्ने छन् । बैठकमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधिको संसोधन तथा यसका व्यवस्थाका बारेमा जानकारी दिनुका साथै सो सम्बन्धमा छलफल समेत भएकोे थियो । बैठकले कार्यविधिमा उल्लेख भए बमोजिम आर्थिक वर्ष २०७६÷०७७ को क्रमागत कैलाश, मकवानपुरगढी र मनहरी गाउँपालिकामा छनौटको निर्णय हुन बाँकी लाभग्राही छनौट गर्न तथा आव २०७७÷०७८ मा स्बीकृत संख्याको लाभग्राही छनौटका लागि १५ दिने सुचना जारी गरेर सर्वेक्षण विवरण तयार गरी सघन शहरी तथा भवन कार्यालयमा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सम्बन्धीत गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।