हेटौंडा – संघीय सरकारसँगको सहलगानीमा हेटौंडामा साँढे १५ करोडको लागतमा खानेपानीका चार वटा योजनाहरु निर्माण कार्य शुरु गरेको छ । ‘हेटौंडा सहलगानी खानेपानी तथा सरसफाई आयोजना’ ले १५ करोड ५५ लाखको लागतमा चार वटा खानेपानीको योजना निर्माण गर्न लागेको हो ।

संघीय सरकारको ७० प्रतिशत, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १५÷१५ प्रतिशत सहलगानीमा एउटा ओभरहेड ट्यांकी, तीनवटा भुमिगत ट्यांकी बनाउने र विभिन्न ४ स्थानमा बोडिङ गर्ने लगायतको काम गर्ने गरी निर्माण कम्पनिसँग सम्झौता भएर काम अगाडि बढेको छ । जस अन्तर्गत मंगलबार बिहान हेटौंडा–१०, टीसीएनमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण कार्यको सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ओभरहेड ट्यांकी निर्माण कार्यको सिलान्यास गर्नुभएको हो । सिलान्यास कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडा खानेपानी बोर्ड पनि उपमहानगरकै अंग भएको बताउनुभयो । उहाँले खानेपानीको सेवा उपलब्ध गराउनु उपमहानगरपालिकाको पहिलो प्राथमिकताको विषय भएको बताउनुभएको छ ।
आयोजनाअन्तर्गत हेटौंडा–२, हरिकुञ्जरोड, हेटौंडा–५, रुद्रेश्वर मन्दिर परिसर र हेटौंडा–१५, रातोमाटेमा जमिनकै तहमा ५ लाख लिटर क्षमताका तीनवटा ट्याङकी निर्माण गरिने आयोजनाका प्रमुख नन्दलाल बञ्जाडेले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत हेटौंडा–७ मा दुईवटा बोरिङ, टीसीएन र हेटौंडा–८ मा एकरएक वटा डीप वोरिङको निर्माण गरिनेछ । यस्तै १३ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पनि आयोजनाअन्तर्गत गरिनेछ । गत असार २७ गते निर्माण कम्पनि कन्काई–भीमेश्वर जेभीले निर्माण २ वर्ष भित्र निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

निर्धारित समयभन्दा अगाडि नै निर्माण कार्य पूरा गर्न ठेकेदार कम्पनिलाई बजेट उपलब्ध गराउन आयोजना तयार रहेको प्रमुख बञ्जाडेले बताउनुभयो । त्यस्तै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले सस्तोमा खानेपानी वितरण गरिरहेको भन्दै गुणस्तर कायम गर्न बोर्डले प्रयोगशाला नै स्थापना गरेर नियमित गुणस्तर परीक्षणको कार्य समेत गरिरहेको जानकारी गराउनुभएको थियो ।