हेटौंडा, १५ जेठ — मदन भण्डारी फाउन्डेसन मकवानपुरले बिहीबार बनभोज कार्यक्रम आयोजना गरेको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा फाउन्डेसनले हेटौंडा–१९ स्थित तपोवन क्षेत्रमा विशेष बनभोज कार्यक्रम आयोजना गरेको हो ।

फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा शुभकामना दिनुहुँदै प्रमुख आतिथि पौडेलले फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमहरु पृथक र रचनात्मक हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फाउन्डेसनले मदन भण्डारीका विचार र सिद्धान्तलाई जनस्तरसम्म पु¥याउन सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ, जुन समाज रूपान्तरणका लागि प्रेरणादायी काम हो ।” उहाँले गणतन्त्र प्राप्तिपछि जनताको अधिकार, सहभागिता र सशक्तीकरणका सवालमा समाजलाई अझ सचेत बनाउन फाउन्डेसनले थप जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गणतन्त्रका बिरुद्ध भ्रम छर्ने कामहरु भईरहेको भन्दै यस विषयमा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रम गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष खुलालले बताउनुभयो । उहाँले निरंकुसताको बिरुद्ध लडेर ल्याईएको व्यवस्था उत्कृष्ट भएको र यसलाई संस्थागत गर्न सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेश कमिटी सदस्य बलराम बल, गणेशकुमारी श्रेष्ठ, गोपाल श्रेष्ठ, एमाले मकवानपुर जिल्ला उपाध्यक्ष हिदम लामा, लगायत अन्य राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले वनभोजसँगै आपसी भेटघाट, विचार आदान–प्रदान गर्नुका साथै गीत, कविता आदिबाट मनोरञ्जन पनि प्रदान गरेका थिए ।











