मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहहरुले परिवार नियोजन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार सुनौलो परिवार नेपालको जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकमा उहाँले गैरसरकारी संस्थाहरुका राम्रा कार्यक्रमहरुलाई स्थानीय तहहरुले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले गैरसरकारी संस्थाहरुको परियोजना सिमित समयका लागि हुने हुँदा राम्रा कार्यक्रमहरुलाई स्थानीय तहले निरन्तरता दिनुपर्ने बताउनुभयो । स्थानीय तहका लागि त्यो चुनौति पुर्ण हुने समेत उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, रोजगारी, व्यक्तित्व विकासलगायत मानव संसाधनको विकासका विभिन्न कार्यक्रमहरु सिमित समयका लागि संचालन गर्ने तर, गैरसरकारी संस्था बाहिरीए पछि त्यसको निरन्तरता नहुँदा समस्या देखिएकाले गैरसरकारी संस्थाले छोडेर गएकै स्थानबाट कार्यक्रमलाई सुचारु गर्न चुनौति रहेको तर त्यस्ता राम्रा कार्यक्रमहरु सुचारु गर्नुपर्ने बताउनुभयो ।
प्रमुख खुलालले सुनौलो परिवार नेपालको कार्यक्रम मकवानपुरमा सकिनै लागेकोले परिवार नियोजन सम्बन्धी कार्यक्रमलाई स्थानीय तहले निरन्तरता दिन सक्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गैरसरकारी संस्थाका कार्यक्रमहरुलाई स्थानीय स्तमा स्थापीत गर्नुपर्ने बताउनुभयो । उहाँले गैरसरकारी संस्थाद्धारा संचालित कार्यक्रमहरु स्थानीय प्राथमिक्ताका आधारमा सञ्चालन हुनुपर्ने समेत बताउनुभयो ।
सुनौलो परिवार नेपालले मेरी स्टोभ्स ईन्टरनेसनलको सहयोगमा तीन वर्षका लागि मकवानपुरमा संचालन गरेको कार्यक्रम यो वर्षबाट सकिदैछ । संस्थाले विशेष गरि सिमान्त्कृत र संकटासन्न महिलाहरुका लागि अपरिपुरित परिवार नियोजन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम मार्फत संस्थाले परिवार नियोजनाका बारेमा जनचेतना फैलाउने, परामर्श दिने, शिविर संचालन गर्ने लगायतका कृयाकलाप गरेको जनाइएको छ । संस्थाले विशेष गरि परिवार नियोजनाका ईम्प्लान्ट र आइसियुडी सम्बन्धी सेवा प्रदान गर्ने गरेको छ । संस्थाले मकवानपुरमा करीब ३ वर्षमा ४ हजार ८४ जनालाई ईम्प्लान्ट र ८५ जनालाई आइसीडीयु सेवा प्रदान गरेको जनाएकोे छ । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका भीम तिमल्सिना, भोला चौलागाईलगायत जिल्ला परियोजना सल्लाहाकार समितिका सदस्यहरुको सहभागिता थियो ।