कोभिड-१९ फ्लू भन्दा कम घातक रहेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखेको स्टाटस फेसबुकले हटाएको छ। कोरोना संक्रमित भएपछि राष्ट्रपति ट्रम्पलाई तीन दिन अस्पताल भर्ना गरेर उपचार गरिएको थियो, त्यसपछि उनी व्हाइट हाउस फर्केका थिए।
‘अमेरिकाले फ्लू सिजनसँग बाँच्न सिकिसकेको छ त्यसैगरी हामी कोभिड-१९ का साथ पनि बाँच्न सिकिरहेका छौँ, अधिकांश क्षेत्रमा कोरोना भाइरस कम घातक छ’ ट्रम्पले फेसबुकमा लेखेका थिए। ट्रम्पले ट्विटरमा पनि यो सन्देश पोष्ट गरेका थिए जसलाई ट्विटरले पनि हाइड गरेको छ। उनको यो ट्वीटमा एक चेतावनी लेखिएको देख्न पाइन्छ जसमा भनिएको छ, ‘ यो भ्रामक र हानिकारक जानकारी हुन सक्छ।’ फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले भने, ‘हामी कोभिड–१९ बारेका दिइएका गलत जानकारी हटाइदिन्छौँ र ट्रम्पको पोस्ट पनि यसैगरी हटाइएको छ।’ फेसबुकले ट्रम्पको पोस्ट हटाएको यो दोस्रोपटक हो तर ट्विटरले भने धेरै पटक ट्रम्पको पोस्ट हटाउने र चेतावनी दिने कार्य गरिसकेको छ।