मकवानपुर– जिल्ला सुरक्षा समिति मकवानपुरले आसन्न प्रतिनिधि सभाको निर्वाचनका सन्दर्भमा आइतबार जिल्लामा क्रियाशिल राजनैतिक दलहरुसंग छलफल गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा जिल्ला सुरक्षा समिति र जिल्लामा कृयाशिल राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि बिच छलफल भएको हो ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित सुरक्षा निकायका प्रमुखहरु र राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि बिच जिल्लाको समग्र शान्ति सुरक्षा, राजैतिक दलका भेला तथा गतिविधीहरुलाई थप व्यवस्थित गर्ने÷गराउने विषयमा छलफल भएको हो । छलफलमा आसन्न प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा लगायतको गतिविधिहरुलाई व्यवस्थित गराउन आवश्यक समन्वय गर्ने र राजैनैतिक दलहरुले चुवान लक्षित गतिविधिहरुलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । छलफलमा उहाँले सार्वजनिक सडक अवरोध गरेर कार्यक्रम सञ्चालन नगर्न, बुद्धचोक, सिमाचोक जस्ता बढी भिड÷भाड हुने स्थानमा कार्यक्रम नगर्न समेत आग्रह गर्नुभयो । उहाँले चुनावको तयारी भइरहेको र सुरक्षा योजना निर्माणको चरणमा रहेको जानकारी दिदैँ पाट्रीका कार्यक्रमहरुका बारेमा सुरक्षा निकायहरुलाई जानकारी गराउन समेत आग्ह गर्नुभयो ।

छलफलमा जिसस प्रमुख खुलालले व्यवस्थित भएर चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्न राजनैतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले स्वस्थ रुपमा दलिय प्रतिष्पर्धा गर्नुपर्ने भन्दै आपसी समझदारी कायम गर्दै शान्तिपूर्ण र मर्यादित भएर कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । छलफलमा जिसस उपप्रमुख भगवती पुडासैनी, पुरानो गोरखगण सुपारेटारका प्रमुख सेनानी राजेश थापा, प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, शसस्त्र प्रहरी उपरिक्षक निरकृष्ण अधिकारी, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली कांग्रेसका सहसचिव रामबाबु बानीया, राप्रपा मकवानपुरका नेता सिताराम बर्तौला, जसपा मकवानपुरका प्रतिनिधि सुरेन्द्र भट्टराईलगायतको सहभागिता थियो ।