कोरोना सङ्क्रमणका कारण आज काठमाडौँ उपत्यकामा १२ सहित देशभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले आज कोरोना सङ्क्रमणका कारण देशभर ५ महिला र १४ पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । सङ्क्रमणबाट काठमाडौँमा ९, ललितपुरमा ३, सर्लाहीमा २ जना, सुनसरी, पर्सा, चितवन, गोरखा र नवलपरासी पूर्वमा १÷१ जनाको मृत्यु भएको प्रवक्ता प्रा। डा। गौतमले जानकारी दिनुभयो । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ५ सय ५४ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर दुई हजार चार सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७ सय ८१ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ९ सय ३७ महिला र एक हजार ५ सय ३५ पुरुषमा संक्रमण पुष्टि भएको प्रा। डा गौतमले जानकारी दिनुभयो । यस्तै आज काठमाडौँमा एक हजार एक सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा एक सय ३ जना गरी काठमाडौँ उपत्यकामा एक हजार ५ सय ३१ जना संक्रमित थपिएका छन् । आज देशभर नयाँ संक्रमित थपिएका ६२ जिल्ला मध्ये सुनसरीमा एक सय २२, चितवनमा एक सय ३, रौतहटमा ८४, नवलपरासी पूर्वमा ६६, रुपन्देहीमा ५८ र मोरङमा ५५ जना छन् भने बाँकी अन्य जिल्लामा ५० भन्दा कम सङ्ख्यामा संक्रमित भेटिएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमित हुनेका कुल सङ्ख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप एक हजार एक सय ३३ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६५ हजार दुई सय २ जना पुगेको प्रवक्ता प्रा।डा गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार आज देशभर ७३ जिल्लामा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १२ हजार तीन सय १६ जना होम आइसोलेसनमा र ११ हजार एक सय ९१ जना संस्थागत आईसोलसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण भएका २ सय ४४ जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।