कोरोनाविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका सुरक्षा निकायका ८ हजार २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी आठ हजार बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका मात्रै ४४ सय २३ जना छन् । जसमध्ये १७ सय २६ जना सक्रिय संक्रमित छन् भने २६ सय ९७ जना डिस्चार्ज भइसकेका छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयकै ३०१ जना, उपत्यकाका ५९७ जना, प्रदेश १ का १४३ जना, प्रदेश २ का ८४ जना, वाग्मती प्रदेशका १३४ जना, गण्डकी प्रदेशका १३४ जना, प्रदेश ५ का १७६ जना, कर्णाली प्रदेशका ४१ जना र सुदूरपश्चिम प्रदेशका ९५ जना छन् । यस्तै नेपाली सेनाका २५ सय ९० जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८०८ जना डिस्चार्ज भएका छन् भने १८ सय ८० जना सक्रिय संक्रमित छन् । संक्रमणबाट सेनाका २ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलमा भने निको हुने दर बढेको छ । सशस्त्रमा १२ सय ४७ जना संक्रमित हुँदा ९ सय ९९ जना डिस्चार्ज भएका छन् । २ सय ४८ जना सक्रिय संक्रमित छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या पनि बढ्दै गएको पाइएको छ ।