औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ वटा ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।
भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानोल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर लगायतका स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिबतन्धत उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । यसअघि विभागले गुणस्तरहीन भएको भन्दै भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका नौ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।