मकवानपुर– बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले रेबिज रोगबाट बच्न समुदायमा अझै बढी जनचेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ । विश्व रेबिज बिरुद्धको दिवशका अवसरमा हेटौंडामा आयोजित अन्तरकृया कार्यक्रममा उहाँले रेबिज जस्तो प्राणघातक सरुवा रोग लाग्न नदिन समयमै सचेतना फैलाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर राम प्रकाश प्रधान ।

मन्त्री लामाले कुकुरको टोकाइबाट सर्ने प्राणघातक रोगबाट बच्नका लागि कुकुरको व्यवस्थापनमा ध्यान दिनुपर्ने तथा स्थानिय तहसंगको समन्वयमा कु्कुरको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले कुकुर पल्नेले कुकुरको दिशा—पिसब गर्ने व्यवस्था आफै मिलाउनु पर्ने भन्दै बागमती प्रदेश सरकारले कुकुर पालेर वातवरण र समाज दुरगन्ध गर्नेलाई कार्वाही गर्ने निति ल्याउने समेत बताउनुभयो । उहाँले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा यो रोगका सम्बन्धमा अझै बढी जनचेतना फैलाउन जरुरी रहेको भन्दै रेबिज रोगबाट बच्न र बचाउन जनचेतना फैलाउने काममा सरकार, चिकित्सा क्षेत्रलगायत सबैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना वैद्य जोशीले रेबिज रोग निर्मुल गर्न पुशु व्यवसायमा संलग्नहरुमा जनचेतना फैलाउन पर्ने बताउनुभयो । यस रोगबाट बच्न सरकारले जनचेतनामुलक कार्यक्रमहरुमा जोड दिनु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले रेबिज रोग सर्न नदिन कुकुरको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशनालयका निमित्त निर्देशक डाक्टर राम प्रकाश प्रधानले नेपालले सन् २०३० सम्ममा रेबिज रोग निर्मुल गर्न विभिन्न अन्तरष्ट्रिय अभीसन्धिमा हस्ताक्षर गरिसकेको बताउनुभयो । उहाँले नेपालमा प्रत्यक वर्ष १ देखि २ सय सम्म रेबिज रोगका कारण मानिसको मृत्यु हुने जानकारी दिँदै रेबिज निर्मुल गर्न तिनै तहको सरकारले अहम भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले रोग लागे पछि नबाच्ने पक्का हुने यस्तो प्राणघातक रोगका बारेमा सबै सचेत रहनु पर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रिय दुग्द्य सहकारी संघका अध्यक्ष नारायण देवकोटा, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीहरु, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पदाधिकारीहरु, कृषि तथा पशुपालन सम्बन्धी विभिन्न संघ संसथाका पदाधिकारीहरुको उपस्थिति थियो । बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले विश्व रेबिज बिरुद्धको दिवश सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाएको हो ।