काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा अनुशासनहीनता र अन्तर्घात छानबिन गर्ने भएको छ । बुधबार बसेको सचिवालय समितिको बैठकले उक्त घटनाको छानबिन गरी कारबाहीको सिफारिस गर्न प्रदेश समितिलाई जिम्मा दिएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयाे ।
गत माघ १२ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा एमालेका जनप्रतिनिधिले आफ्ना उम्मेदवारलाई मत नदिएको खुलेको थियो । एमालेले तुल्सीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । उहाँले पार्टी छाडेकाले कारबाही गरेको उपमहासचिव गुरुङले बताउनुभयाे । एमालेले प्रत्येक जिल्लामा एक जना आईटी विज्ञ राख्ने निर्णय पनि गरेको छ ।
त्यस्तै महिला, युवा, किसान महासंघ र विद्यार्थीबाहेक अरु भातृ संगठनको महाधिवेशन प्रक्रियालाई निरन्तर अघि बढाउने र फागुन–चैतभित्र सदस्यता वितरण तथा नवीकरण गर्ने निर्णय पनि गरेको छ । यसरी लिइने सदस्यता शुल्कमध्ये ४० प्रतिशत केन्द्रलाई, प्रदेश र जिल्ला कमिटीलाई २५ –२५ र स्थानीय तह कमिटीलाई १० प्रतिशत बाँडफाँट गर्ने निर्णय गरिएको उपमहासचिव गुरुङले बताउनुभयाे । बैठकले पार्टीको स्कुल विभाग र प्रचार विभागलाई पनि पूर्णता दिएको छ । त्यस्तै नवयुग पत्रिकालाई सैद्धान्तिक–वैचारिक मुखपत्रका रुपमा चौमासिक प्रकाशन गर्ने निर्णय गरेको उपमहासचिव गुरुङले जानकारी दिनुभयाे ।