मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने हुनुभएको छ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग अवलोकनका लागि उहाँ मकवानपुर आउन लाग्नु भएको हो ।
राष्ट्रपति पौडेल बिहान ९.३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर आउने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेल ९.३० बजे मकवानपुरको बकैया-११ लेनडाँडा आउनुहुने र लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुहुने कार्यक्रम छ । त्यसपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन निजगढतर्फ लाग्ने र त्यहाँबाट काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रपति मकवानपुर आउनुहुने भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको मकवानपुर प्रहरीले जनाएको छ ।