सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ । चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको २० हजार मात्रा खोप नेपाल भित्रिएको छ ।
यो खोप ९ देखि १४ वर्ष उमेरका बालिकालाई लगाउने तयारी भएको हो । तर, कहिलेदेखि खोप लगाउने भन्ने टुंगिएको छैन । अहिले २० हजार मात्रा मात्रै आएकाले कसलाई प्राथमिकतामा राख्ने भन्ने पनि टुंगीसकेको छैन । यो खोप टेकुमा रहेको भण्डारणमा राखिएको छ । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप दुई मात्रा लगाउनु पर्छ । पहिलो मात्रा लगाएको ६ महिना पछि अर्को मात्रा लगाउनु पर्छ ।
अहिले आएको २० हजार मात्राले १० हजार बालिकालाई मात्रै खोप दिन पुग्छ । केही मात्रा खेर जाने सम्भावना पनि हुन्छ । यसले गर्दा खोप लगाउने बालिका छनौट गर्न स्वास्थ्य मन्त्रालयलाई चुनौती छ । यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको पनि डाक्टर गौतमले बताउनुभयो ।
खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाइसकिएकाले केही दिनभित्र निर्णय हुने उहाँले जानकारी दिनुभयो । डाक्टरका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ ।
प्यापिलोमा भाइरस एचपीभी विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए पाठेकघरको मुखको क्यान्सर हुने सम्भावना कम हुन्छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जना भन्दा धेरैलाई पाठेघर मुखको क्यान्सर हुन्छ । यसकै कारण वार्षिक २ हजार जनाको ज्यान जाने गरेको छ । केही वर्ष अघि यो खोपको प्रभावकारीता अध्ययन गर्न चितवन र कास्कीमा खोप वितरण गरिएको थियो ।