मकवानपुर– मकवानपुरमा सोमबार ट्रक र ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्याक्टर र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्याक्टर चालक बाराको परवानीपुर गाउँपालिका–१ का २१ वर्षीय लालबाबु यादवको मृत्यु भएको हो ।
बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक यादवको उपचारका लागि हेटौंडा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी ट्याक्टरका सहचालक बारा परवानीपुर गाउँपालिका–१ कै १७ वर्षीय दिपेन्द्र कुमार मण्डल, ट्रकका चालक धनुषाको मिथिला नगरपालिका–५ का गंगाराम महतो र सहचालक सिराहाको कल्याणपुर नगरपालिका–८ का अभि साह घाइते भएका छन् । उनिहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको र तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो ।