सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरमा आज एकै दिनमा छुट्टा छुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । आज खोलाले बगाउँदा तीन जना, रेविज रोगबाट एक जना र कोरोनाबाट एक जनाको मृत्यु भएको हो ।
खोलाले बगाएर मकवानपुरको कैलाश गाउँपालिकाका एक जना, वीरगंज घर भई हेटौंडा बस्दै आएकी एक जना र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको छ । कैलाश गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा पर्ने विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु भएको हो । स्याङतान ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा खोला तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो ।
यस्तै भीमफेदी गाउँपालिको वडा नम्बर १ स्थित त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले बगाउँदा वीरगञ्ज घर भई हेटौंडा बस्ने १८ वर्षीया प्रियका सोनीको मृत्यु भएको छ । शनिबार दिउँसो साथीहरुसँग घुम्न गएकी उनी सेल्फि खिच्ने क्रममा चिप्लेर खोलाले बगाएको थियो । उनको शव त्रिखण्डी मन्दिरभन्दा ८ सय मिटर तल खोप्लाङको पुल मुनि भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यस्तै हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा एक महिलाको शव फेला परेको छ । आन्दाजी ४०÷४५ वर्षीया एक महिलाको शव खोलामा फेला परेको हो । मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै आजै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनी निवासी शान्तबहादुर मार्गनको रेबिज रोगका कारण मृत्यु भएको छ । मार्गनलाई काठमाडौंको टेकु अस्पतालले उपचार नहुने भनेपछि शुक्रबार घर ल्याइएको थियो । उनको शनिबार बिहान आफ्नै घरमा मृत्यु भएको हो । ६२ वर्षीय मार्गनलाई गत बैशाखमा कुकुरले टोकेको बताइएको छ । यस्तै कोरोनाबाट आज हेटौंडा उपमहानगरपालिका वडा–९ का ७४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण चितवन मेडिकल कजेलमा उपचारका लागि भर्ना हुन भएका उहाँको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । हेटौंडा–९ का वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीका अनुसार उहाँलाई भदौ ९ गते कोरोना पुष्टि भएको हो ।